झडपमा आन्दोलनकारीको मृत्यु भएको विरोधमा तराईका जिल्ला बन्द
काठमाडौं, ८ माघ । मोरङ्गको रङ्गेलीमा भएको दोहोरो झडपमा आन्दोलनकारीको मृत्यु भएको विरोधमा आज तराईका धेरै जिल्ला बन्द गराएको छ । रंगेली र आसपासको क्षेत्र आज बिहानैदेखि सुनसान छ । मोरङका अन्य क्षेत्रमा भने मोर्चाका कार्यकर्ताले विहानैदेखि प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ताले तराईका अरु जिल्लामा पनि प्रदर्शन गरिरहेका छन । बिहानैदेखि जनकपुर पूर्ण रुपमा बन्द गराईएको छ । हिजो अबेर राती बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत आन्दोलनरत पक्षको बैठकले जनकपुर बन्द गराउने निर्णय गरेको हो । धनुषा सदरमुकाम जनकपुर लगायत आसपासका शैक्षिक संस्था बन्दको आव्हान गरे पनि सदरमुकाम भन्दा बाहिरका शैक्षिक संस्था भने खुल्ला छन् । मोरङको रंगेलीमा हिजो नेकपा एमाले निकट युवासंघको भेला बिथोल्न खोज्दा प्रहरीसँग भएको झडपमा ३ जनाको मृत्यु भएको थियो ।